सत्चितशमशेर राणा
नेपाली विकिपीडियाबाट
पूर्वप्रधानसेनापति सत्चितशमशेर राणाको जन्म १९९० साल पाल्पामा भएको थियो । राणाले २०१२ सालमा सहायक सेनानीबाट सेनाको जागिर सुरु गरेका थिए । २०४४ सालमा उनी प्रधानसेनापति बनेका, उनी २०४६ को जनआन्दोलनका बेला पदमै थिए । उनी विघटित राजपरिषद् स्थायी समितिका सदस्य तथा म्यान्माका लागि नेपाली राजदूत पनि बनेका थिए ।
क्यान्सरपिडित राणाको निधन २०६४ वैशाख २१ मा काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भयो । उनको वैशाख २१ मै पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो । स्व. राणाको पार्थिव शरीरमा उनका पुत्र सदयशम्शेरले दागबत्ती दिएका थिए । उनका श्रीमती, तीन छोरी र एक छोरा छन् ।
राजा ज्ञानेन्द्रको शासनमा राजपरिषद् सदस्य रहेका राणा राजा ज्ञानेन्द्रका प्रमुख राजनीतिक सल्लाहकारका रूपमा चिनिएका थिए । राजाको निरंकुश शासनको पक्षमा सक्रिय रहेकाले उनी विवादित बनेका थिए ।लोकतान्त्रिक आन्दोलन दबाउन भूमिका खेल्नेलाई छानबिन गरी कारबाहीको सिफारिस गर्न बनेको रायमाझी आयोगले पनि उनीसँग बयान लिएको थियो । आन्दोलन दबाउन भूमिका खेलेको उल्लेख गर्दै उनलाई कानुन बनाएर कारबाही गर्न सिफारिस गरेको थियो ।