पुष्पभक्त मल्ल
नेपाली विकिपीडियाबाट
वि. सं. १९९० मा सञ्चालित पहिलो एस.एल.सी. का बोर्डफर्स्ट पुष्पभक्त मल्ल हुनुहुन्थ्यो । भक्तपुरको खौमाटोलमा वि. सं. १९७० साल माघ १२ गते जन्मेका पुष्पभक्त निम्नस्तरको परिवारमा जन्मेर पनि मेहनत गरे ठूलो सफलता प्राप्त गर्न सकिन्छ भन्ने मान्यताका उदाहरण हुनुहुन्थ्यो । मल्ल नेपालका खानी विषयका पहिलो इञ्जिनियर र खानी विभागका पहिलो नेपाली निर्देशक पनि हुनुहुन्थ्यो । उहाा नेपालका खानी तथा भूगर्भ (माइनिङ इञ्जिनियरिङ) विषयका पहिलो इञ्जिनियर पनि हुनुहुन्थ्यो । उहाँको बाल्यकाल संघर्षमय रहृयो । एकजना पढेलेखेका आफन्तको मद्दतले उहाँले चार कक्षासम्म भक्तपुरमै पढ्नुभयो । बाँकी पढाइका लागि दरबार स्कुल नै पुग्नुपर्थ्यो । काठमाडौंमा आफन्तकहाँ बस्ने व्यवस्था मिलाएर दरबार स्कुलमा भन्दा पनि भए तर किताब किन्ने समस्याले उहाँलाइ निकै नै सतायो । उहाँ रून थाल्नुभयो । उहाँको मर्का बुझेका भक्तपुर स्कुलका एकजना शिक्षकले ज्यामितिको एउटा किताब सित्तैमा दिएर उहाँलाई फुल्याए । बाँकी किताब उहाँले ट्युशन पढाएर किन्नुभयो । ट्युशन पढाएकै शुल्कले उहाँले आफ्नो पढाइ जारी राख्नुभयो । पढाइप्रतिको उहाँको सम्मोहन एउटा इखका कारण मौलाएको थियो । एकपटक गुरूले उहाँलाई एउटा अंग्रेजी कविता कण्ठ पार्न दिएछन् । भोलिपल्ट उहाँले कविता कण्ठ सुनाउन नसक्दा गुरूले भनेछन्- '१४ वर्षको तेरो काकाले मेट्रीक गरिसक्यो । तँ १३ वर्षको भएर पनि यति सानो कक्षामा छस्, तैपनि पढ्दैनस् । तैंले के गर्छस् ?' यो सुनेर मल्ल जीवनभरि अध्ययनमै लीन रहे । वि. सं. १९९० कार्तिक १६ गते नेपालमा पहिलोपटक एस.एल.सी. परीक्षा बोर्डको गठन भएको थियो । त्यसपूर्व परीक्षा दिन छात्र-छात्राहरू कोलकाता र पटना विश्वविद्यालयमा जानुपर्थ्यो । नेपालमै परीक्षा बोर्ड गठन भई परीक्षा दिन पाउने प्रबन्ध भए पनि परीक्षासम्बन्धी सबै प्रक्रियाहरू नेपाल सरकारका लागि पटना विश्वविद्यालयले नै गर्थ्यो । नेपालमा एस.एल.सी. परीक्षा गठन भएपछि पहिलोपटक १९९० साल पुसको अन्तिम हप्तादेखि परीक्षा सञ्चालन भएको थियो । तत्काल परीक्षा केन्द्र दरबार हाइस्कुलदेखि दक्षिणपट्टीको भवनमा थियो । परीक्षा आधाआधी हुँदा संवत् १९९० साल माघ २ गतेका दिन विनाशकारी महा-भूकम्प गयो, जसको कारण केही दिन परीक्षा स्थगित गर्नुपर्यो । भूकम्पका कारण दुई वर्ष दरबार हाइस्कुलको पढाइ त्रिचन्द्र कलेजमा चल्यो । पहिलोपटक कुल ३४ परीक्षार्थीहरू सहभागी रहेको उक्त परीक्षामा कोही पनि प्रथम श्रेणीमा उत्तीर्ण भएनन् । यीमध्ये १० जना द्वितीय श्रेणी र नौजना तृतीय श्रेणीमा उत्तीर्ण भए भने १४ जना असफल र एकजना अनुपस्थित भए । द्वितीय श्रेणीमा उत्तीर्ण भएका १० जनामध्ये सर्वाधिक अंक मल्लले पाउनुभएको थियो । परीक्षार्थीहरूमध्ये एकजना छात्रा सविनाकुमारी देवीले परीक्षा र्फम भरे पनि उनी परीक्षामा अनुपस्थित रहिन् । कुल आठसय पूर्णाङ्क रहेको उक्त परीक्षामा उत्तीर्ण हुन प्रत्येक विषयमा ३६ नम्बर ल्याउनु पर्थ्यो । उहाँकी छोरी नेपालकी प्रथम महिला इञ्जिनियर समेत रहेकी छोरी शान्ती मल्ल हुनुहुन्छ । आजकाल एस.एल.सी.को नतिजा प्रकाशित हुनासाथ बोर्डमा आउनेहरू संचारमाध्यमको घेरामा परिहाल्छन् । तुरून्त तिनको नाम आम समुदायमा पुग्छ । तिनका अन्र्तवार्ताहरू सार्वजनिक हुन्छन् । तर, त्यो बेलाको स्थिति अर्कै थियो । रिजल्ट भएको एक महिनापछि मात्र पुष्पभक्तले बोर्डफर्स्ट भएको थाहा पाउनुभयो । दरबार स्कुलका तत्कालीन प्रधानाध्यापक रूद्रराज पाण्डेले उहाँलाई भन्नुभयो, 'ए पुष्प तिमी त बोर्डफर्स्ट भएका रहेछौ । बधाईं छ तिमीले मासिक २० रूपैयाँ पाउनेछौ ।' बोर्डफर्स्ट भए पनि द्वीतीय श्रेणीका कारण उहाँले मासिक २० रूपैयाँ भने पाउनु भएन । एस.एल.सी.पछि त्रिचन्द्र कलेज हुँदै बनारसबाट खानी तथा भूगर्भ इञ्जिनियरिङमा स्नातक मल्लले खानी विभागमा रहेर लामो समय काम गर्नुभयो । यही अवधिमा उहाँले फूलचोकीमा फलाम खानी र स्वयम्भु क्षेत्रमा सुनखानीको अध्ययन गर्नुभएको थियो । खानी वैज्ञानिकसमेत रहेका मल्लको विश्वास थियो- उत्खनन् गर्न सकेमा नेपालमा खनिजको राम्रो सम्भावना छ । सिमेण्ट उद्योगले मात्र खानी विभागको सम्पुर्ण खर्च उठाउन सक्छ भने अरू खनिज उद्योग चलाउन सके त्यसले देशकै अर्थतन्त्रमा महत्वपुर्ण सुधार ल्याउनेछ । धर्मकर्ममा अत्यन्त आस्थावान उहाँले भक्तपुरका महादेव र लक्ष्मीनारायण मन्दिरलाई मासिक एकसय रूपैयाँ तथा भागवत पुरोहितलाई दुई सय रूपैयाँ प्रदान गर्दै आउनुभएको थियो । उहाँ संस्कृत शिक्षालाई महत्व दिन छाडिएकोमा चिन्तित हुनुहुन्थ्यो । संस्कृतमा ज्ञानको अद्वीतीय भण्डार छ भन्ने उनको ठहर थियो । तत्कालिन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (रोनाष्ट), पृथ्वी प्रतिष्ठान, पुर्व कर्मचारी सेवा परिषद्, छिमेक समाज सेवा लगायतका संघसस्थाबाट उहाँले पहिलो बोर्डफर्स्ट र खानी वैज्ञानिकका रूपमा सम्मान पाउनुभएको थियो । उहाँको २०६१ जेठ १६ गते ९१ वर्षको उमेरमा निधन भयो । उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले दरबार हाइस्कूलबाट प्रवेशिका परीक्षा दिनुभएको थियो । उहाँका चार छोरा र तीन छोरी छन् । इमान्दार भएर बाँच्नु ठूलो तर कठिन कुरा भएको बताउने उहाँले धेरै बर्ष जागिरे जीवन बिताउनुभएको थियो । तर, काठमाडौंको डिल्लीबजारमा घर बनाउँदा लागेको ऋण तिर्न नसकेकै अवस्थामा उहाँको निधन भयो । लण्डनबाट खानी तथा भूगर्भ विज्ञानसम्बन्धि विशेष तालिमसमेत लिएका मल्ल देशमा रहेका असख्य प्राकृतिक स्रोत साधनको उपयोग हुन नसकेकोमा चिन्तित हुनुहुन्थ्यो । विज्ञान प्रविधिको विकास विना देशमा आर्थिक र सामाजिक विकास हुन नसक्ने उहाँको ठहर थियो ।