टंकप्रसाद आचार्य
नेपाली विकिपीडियाबाट
प्रजातन्त्रवादी नेता, नेपालको जेठो राजनीतिक पार्टी नेपाल प्रजा परिषद्का
संस्थापक अध्यक्ष एवम् नेपालका भूतपूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको जन्म वि.सं. १९६९ साल मंसिर १७ गते आइतबार भएको हो । उहाँले वि.सं. १९९३ मा (२२ वर्षको उमेरमा) नेपाल प्रजा परिषद्को स्थापना गर्नुभयो । १९९७ सालमा राणा शासनविरुद्ध पर्चा छरेपछि पक्राउ पर्ने २ सयजना व्यक्तित्वमा उहाँ पनि हुनुहुन्थ्यो । २००३ सालमा कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्दा प्रजापरिषद्को बलिदान सम्झेर उहाँलाई सभापति बनाइयो । २००७ सालको क्रान्तिको आधारभूमि तयार पार्ने ५ जना युवाहरू- टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त, रामहरि शर्मा र जीवराज शर्मा हुनुहुन्थ्यो । देशमा प्रजातन्त्र आएपछि २०१३ सालमा टंकप्रसाद देशको प्रधानमन्त्री हुनुभयो । प्रथम पञ्चवर्षिय योजनाको थालनी, राष्ट्रबैंकको स्थापना र देशभरि नेपाली मुद्राको प्रचलन, निजामति सेवामा सुधार, भूमिसुधार, पञ्चशीलका आधारमा परराष्ट्रसम्बन्धको विकास, राष्ट्रसंघमा नेपालको प्रवेश, शिक्षा विकासका लागि अधिराज्यलाई ७ शैक्षिक क्षेत्रमा विभाजन, राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना जस्ता काम आचार्यको कार्यकालमा भए । उहाँको निधन २०४९ साल वैशाख ११ गते भयो । टंकप्रसाद आचार्यका छोरा कुसुमाकरको २०५६ साल बैशाख १ गते निधन भयो । जलस्रोत मन्त्रालयअन्तर्गत विद्युत् विकास केन्द्रमा २०३७ साल भदौ १२ देखि कार्यरत इन्जिनियर कुसुमाकरको जन्म २०१२ साल माघ १२ गते भएको थियो । कुसुमाकर रुसमा पढेका इञ्जिनियर थिए ।